काठमाडौँ । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
उनका अनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ ।
शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा एम्बुसिङ टोलीसमेत परिचालन गरिएको उनले बताए । चाडपर्वमा धेरै मानिस घर छाडेर गाउँ तथा अन्य स्थानमा जाने भएकाले चोरीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको उनको भनाइ छ ।
डिएसपी खनालले घर छाडेर बाहिर जानुपर्दा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न नागरिकलाई आग्रह गरे । त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा अत्यधिक महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले अनुरोध गरे । यसले लुटपाट तथा चोरीका घटनाबाट जोगिन सहयोग पुग्ने उनले बताए ।
उनले भने, ‘तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी धनुषामा १,२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको निगरानी टोली खटाइएको छ । तिहारमा जुवातास, पटका, आगलागी तथा चोरी नियन्त्रणमा विशेष ध्यान दिइएको छ। साथै, घर छाडेर बाहिर जाँदा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सार्वजनिक स्थानमा बहुमूल्य गरगहना लगाएर नहिँड्न प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।’
चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।





