काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७:२५ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–९ निवासी २० वर्षीय मोटरसाइकल चालक दिक्षित श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रिदम थापा घाइते भएका थिए।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको थियो।
उपचारकै क्रममा आज बिहान करिब ७ बजे चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





