काठमाडौँ । नेपाल संवत ११४७ को नयाँ वर्षका अवसरमा सभामुख डोलप्रसाद अर्याल र गृहमन्त्री सुदन गुरुङले भक्तपुरको शङ्खधर चोकस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा माल्यार्पण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलगायतका विशिष्ट व्यक्तिहरूको पनि सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले शङ्खधर साख्वाःले देखाएको परोपकार, सामाजिक न्याय र लोककल्याणको मार्गलाई सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले अनुकरण गर्नुपर्ने बताए।
व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी सर्वसाधारणलाई ऋणमुक्त गराएको साख्वाःको ऐतिहासिक योगदान स्मरण गर्दै उनले सार्वजनिक पदमा रहनेहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
नेपाल संवत केवल समय गणना गर्ने प्रणाली नभई नेपालको सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको सभामुख अर्यालले बताए।
उनले सरकारी कामकाज तथा अभिलेखमा नेपाल संवतको प्रयोग सुरु भइसकेको उल्लेख गर्दै यसलाई शिक्षा र डिजिटल प्रणालीमा समेत विस्तार गर्न आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
इतिहास र संस्कृतिको संरक्षणसँगै सार्वजनिक जीवनमा इमानदारी, जवाफदेहिता र सामाजिक सद्भाव कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
बागमतीका सबै जिल्लामा प्रतिष्ठान विस्तार गरिने
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए।
उनले शङ्खधर साख्वाःको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्न बागमतीका सबै जिल्लामा प्रतिष्ठान स्थापना गर्ने योजना रहेको बताए। दोलखाबाट सुरु भएको यो अभियानलाई क्रमशः अन्य जिल्लामा विस्तार गरिने उनको भनाइ थियो।
मुख्यमन्त्री थापामगरले बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको समेत उल्लेख गरे।
त्यस्तै, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको नाममा संग्रहालय निर्माणको काम अघि बढाइएको जानकारी दिए। उनले साख्वाःको योगदान र नेपाल संवतको ऐतिहासिक महत्त्वबारे नागरिकलाई जानकारी गराउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मधु आचार्य, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ तथा अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले साख्वाःको ऐतिहासिक योगदानको चर्चा गरेका थिए।
इतिहासकार जोशी र चरिकोटको समितिलाई सम्मान
सो अवसरमा इतिहासकार हरिराम जोशीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, प्रतिष्ठानले स्थापना गरेको एक लाख ११ हजार १११ रुपैयाँ राशिको संस्थागत पुरस्कार शङ्खधर साख्वाः निर्माण समिति, चरिकोटलाई प्रदान गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका विमोचन गरिनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो।





