काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर मनाउने तयारी गरेका छन्। पार्टीसँग आबद्ध नभएका स्थानीय नागरिकको घरमा परिवारसहित बसेर छठका धार्मिक विधिमा सहभागी हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन्।
रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छठ पर्वका सम्पूर्ण विधिमा सहभागी हुने गरी तयारी अघि बढाइएको जानकारी दिए।
उनका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित परिवारका सदस्यसँग जनकपुरधाम आउनेछन्। निकिताले खरनादेखि उदाउँदो सूर्यलाई अर्घ्य दिने समयसम्म व्रत बसेर धार्मिक अनुष्ठानमा सहभागी हुने इच्छा व्यक्त गरेकी छन्।
छठ पर्व मनाउन लामिछानेले जनकपुरधामस्थित गंगासागरलाई मुख्य स्थानका रूपमा रोजेका छन्। उनले यसअघि नै सामाजिक सञ्जालमार्फत राष्ट्रिय एकताको सन्देशसहित जनकपुरधाममा छठ मनाउने घोषणा गरेका थिए।
पार्टीसँग असम्बन्धित नागरिकको घर रोज्न आग्रह
सांसद झाका अनुसार लामिछानेले जनकपुर बसाइका क्रममा पार्टीका नेता, कार्यकर्ता वा उनीहरूका आफन्तको घरमा नबस्ने इच्छा व्यक्त गरेका छन्।
उनले राजनीतिक सम्बन्धका आधारमा नभई सामान्य नागरिकको घरमा बसेर स्थानीय परम्पराअनुसार छठ पर्व मनाउने व्यवस्था गर्न आग्रह गरेको झाले बताए।
‘सभापतिज्यूले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सपरिवार सबै विधिमा सहभागी हुने भन्नुभएको छ,’ झाले भने, ‘त्यो व्यक्ति पार्टीसँग सम्बन्धित वा पार्टी सदस्यको आफन्त पनि नहोस् भन्ने उहाँको आग्रह छ।’
पार्टीसँग सम्बन्धित व्यक्तिको घरमा बस्दा धार्मिक कार्यक्रममा राजनीतिक आग्रह जोडिन सक्ने भएकाले यस्तो व्यवस्था गर्न खोजिएको झाको भनाइ छ।
उनका अनुसार लामिछानेले पत्नी तथा परिवारका सदस्यसहित छठका धार्मिक विधि स्थानीय नागरिकसँगै बसेर पूरा गर्ने योजना बनाएका छन्।
राजनीतिक कार्यक्रम नराख्ने, विभिन्न छठ घाटमा पुग्ने
जनकपुरधाम भ्रमणका क्रममा लामिछानेले राजनीतिक कार्यक्रमभन्दा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिने तयारी गरेका छन्।
सांसद झाले भ्रमणलाई राजनीतिक सभा, औपचारिक भेटघाट वा पार्टीगत गतिविधिमा केन्द्रित नगर्ने जानकारी दिए।
उनका अनुसार लामिछानेले जनकपुरधामका विभिन्न छठ घाटमा पुगेर स्थानीय नागरिकसँग भेटघाट गर्ने कार्यक्रमसमेत मिलाइँदै छ।
गंगासागरमा छठका मुख्य अनुष्ठानमा सहभागी हुने तयारी भए पनि श्रद्धालुको भीडलाई ध्यानमा राखेर उनको आवागमन र उपस्थितिको समय व्यवस्थापन गरिनेछ।
भीड व्यवस्थापनमा विशेष ध्यान
रास्वपाले लामिछानेको जनकपुर भ्रमणका क्रममा सर्वसाधारणको आवतजावत तथा धार्मिक गतिविधिमा असहजता नहुने गरी व्यवस्थापन गर्ने जनाएको छ।
सांसद झाले विगतमा जनकपुरधाममा आयोजित विवाह पञ्चमीलगायत कार्यक्रममा राजनीतिक नेतृत्वको आवागमनका कारण व्यापार व्यवसाय र सर्वसाधारणको आवतजावत प्रभावित भएको अनुभवलाई ध्यानमा राखिएको बताए।
उनका अनुसार यसपटक धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुलाई असर नपर्ने गरी भ्रमण व्यवस्थापन गर्ने तयारी छ।
विशेष गरी गंगासागरलगायत प्रमुख छठ घाटमा ठुलो सङ्ख्यामा व्रतालु र श्रद्धालु भेला हुने भएकाले भीड तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइने उनले बताए।
प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक जानकारी छैन
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह पनि छठ पर्वका अवसरमा जनकपुरधाम आउने चर्चाबारे सांसद झाले औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।
उनले प्रधानमन्त्रीको सम्भावित भ्रमणबारे शुक्रबारसम्म थप स्पष्ट हुन सक्ने जानकारी दिएका छन्।





