काठमाडौँ । भरतपुर महानगरपालिका-१६ को फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना पैदलयात्री घाइते भएका छन् ।
शुक्रबार बिहान ९ बजेतिर फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ९२२१ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका-१५ की ३० वर्षीया पार्वती भुजेललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई बिहान पौने १० बजे मृत घोषणा गरेका थिए ।
सामान्य घाइते भएका दुई जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले कार चालक भरतपुर-१६ का ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।





