काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५, विष्णुपुरामा आमा-छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ता छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूमाथि कात्तिक २५ गते बिहान करिब १० बजे घरायसी विवादका क्रममा ४६ वर्षीया सावित्री देवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तालाई लाठी र भाटाले कुटपिट गरेको आरोप छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे बुझेर पूजा कुमारी गुप्ताको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न कात्तिक २५ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए ।





