काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारी खर्चमा हुने सांसदहरूको विदेश भ्रमणको उद्देश्य, खर्च र उपलब्धि सार्वजनिक गर्न माग गरेकी छन् ।
उनले एक सांसदले राज्यको खर्चमा कति पटक विदेश भ्रमण गर्न पाउँछन् भन्ने प्रश्न पनि उठाएकी छन् ।
तामाङका अनुसार संसदीय समितिमार्फत विदेश जाने सांसदको भ्रमणबारे कतिपय अवस्थामा सम्बन्धित समितिका सदस्यले समेत जानकारी पाउँदैनन् । आफ्नै दलका सांसदलाई पनि सहकर्मी कुन प्रयोजनका लागि विदेश गएका हुन् भन्ने थाहा नहुने गरेको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा भ्रमणका तस्बिर र टिकटक भिडियो देखिने गरेको उल्लेख गर्दै सरकारी खर्चमा भएका भ्रमणबाट नागरिक र सांसदले के लाभ पाए भन्ने स्पष्ट पार्नुपर्ने बताएकी छन् ।





