काठमाडौँ । पाकिस्तानको उत्तरी क्षेत्र गिलगिट–बाल्टिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा शिशुसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार बिहीबार साँझ गिलगिटबाट घिजर जिल्लातर्फ जाँदै गरेको भ्यान चालकले नियन्त्रण गुमाउँदा नदीमा खसेको थियो । दुर्घटनापछि उद्धार टोलीले दुई महिलासहित ११ जनाको शव नदीबाट निकालेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका दुई घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।





