काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् ।
उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसँगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको भनाई छ ।
सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उहाँले बताए। उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए । आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनको दाबी थियो ।
उनले प्रहरी संगठनको सेवा, सुविधा, पोसाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए ।
उनले भने, ‘पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुशी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो । कर्मचारीहरूको त्यस्तै छ । एक पल्ट कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदै छ । एक पल्ट उद्यमी, व्यवसायीहरू एक तालले लिएर भज मन गोविन्दम् जस्तो गर्दै गएका थिए । पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमासा, कहिले के निस्किन्छ, कहिले के निस्किन्छ, अहिले एउटा के बाबु निस्किया छ, ईनम सापकोटा । इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ । इनम सापकोटा भन्ने नचाएका छन् । अनि इनम सापकोटा जताबाट हेर्यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ । यो के का विरुद्ध अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।’
उनले बिचौलिया इनम सापकोटाको सम्बन्धका बारेमा पनि प्रश्न उठाए । सरकारले आफैँले ईनमलाई बिचौलियाको रूपमा प्रयोग गरेको उनको भनाई छ ।





