काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा यसपालि ४९ करोड ५० लाख रुपैयाँले बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३७.३५ प्रतिशतले बढ्दा करअघिको नाफा ३.६५ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको नाफा यस वर्ष २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कुल आय ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आय भने १३ लाख रुपैयाँले घटेर ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँमा झरेको छ । ब्याज, कर, ह्रासकट्टी र परिशोधन अघिको सञ्चालन मुनाफा (इबिट्डा) पनि ६.१३ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको इबिट्डा यस वर्ष ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ छ ।
कम्पनीका अनुसार भोटेकोशी क्षेत्रमा बाढी पहिरोले दूरसञ्चार सेवा अवरुद्ध हुनु र प्रभावित ग्राहकलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा दिनुले सेवा बिक्रीको राजस्वमा असर पारेको छ । असोज २५ गते बूढी गण्डकीमा आएको बाढीले पनि सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम मूल्यका तथा बढी डेटा उपलब्ध हुने मोबाइल प्याकेजको प्रयोग बढ्दा आम्दानीमा प्रभाव परेको कम्पनीको भनाइ छ । यस अवधिमा जीएसएम सेवाको सञ्चालन राजस्व १० लाख १६ हजार रुपैयाँ र फाइबर इन्टरनेट (एफटीटीएच) सेवाको सञ्चालन राजस्व ४ करोड ४० लाख रुपैयाँले बढेको छ ।
तलब वृद्धिसँगै कर्मचारी खर्च बढे पनि कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ । ह्रास खर्च घट्नु र यसअघि सम्पत्तिको मूल्य घटेको भनी लेखांकन गरिएको क्षतिको रकम फिर्ता समायोजन हुनु खुद खर्च घट्नुका कारण रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले दुर्गम क्षेत्रमा सेवा विस्तार र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको। छ





