काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टर्कीको एन्टाल्यास्थित एक बालविकास केन्द्रमा बालबालिकालाई बिरुवा हुर्काउन, सामग्री पुनः प्रयोग गर्न र फोहोर घटाउन सिकाउने अभ्यासको अवलोकन गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन एन्टाल्या पुगेका मन्त्री पोखरेल टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनसँगै मुरातपासा जिल्लाको ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ पुगेका हुन् ।
केन्द्रमा बालबालिकाले ‘शून्य फोहोर’ परियोजनाअन्तर्गत सामग्री पुनः प्रयोग गर्ने अभ्यास गरेका छन् । उनीहरूले सानो हरितगृहमा गोलभेँडासहित विभिन्न तरकारी र बिरुवा हुर्काएका छन् । मन्त्री पोखरेलले केन्द्रको कार्यशाला र बिरुवा उत्पादन क्षेत्र हेरेपछि यी गतिविधि कसरी सञ्चालन गरिन्छन् भन्नेबारे शिक्षक र केन्द्र प्रशासनसँग जानकारी लिएका थिए ।
भ्रमणका क्रममा दुवै मन्त्रीले शिक्षक र अभिभावकसँग पूर्वप्राथमिक तथा सामुदायिक विद्यालय सञ्चालनका अनुभव, आवश्यक पूर्वाधार र विद्यालयसँग अभिभावकको सहकार्यबारे छलफल गरेका थिए । बालबालिकाले अतिथिको स्वागतमा परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरेका थिए ।
मन्त्री पोखरेलले सानै उमेरदेखि प्रकृतिसँग जोडिएका गतिविधिमा बालबालिकालाई सहभागी गराउँदा फोहोर घटाउने बानी बसाल्न र जलवायु परिवर्तनबारे सचेतना बढाउन सकिने धारणा राखे । नेपालमा पनि विद्यालयको सिकाइलाई स्थानीय परिवेश र दैनिक जीवनसँग जोड्ने काम भइरहेको बताउँदै उनले टर्कीका केही अभ्यासबाट सिक्न सकिने बताए ।
उनका अनुसार नेपालमा विद्यालयका भौतिक पूर्वाधारको वैज्ञानिक मूल्यांकन गर्ने र राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी विषय समेट्ने प्रक्रिया अघि बढेको छ ।






