काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई राष्ट्रिय भेलाको मुख्य कार्यसूची बनाएको छ । भेलामा सहभागी सबैले स्थानीय निर्वाचनसम्बन्धी सुझाव लिखित रूपमा दिनुपर्ने पार्टीले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुने जानकारी दिए ।
आचार्यका अनुसार चुनावको पूर्वतयारीसँगै पार्टीका निर्णय र राजनीतिक दृष्टिकोणबारे पार्टी पङ्क्तिमा साझा बुझाइ बनाउने तथा वैचारिक र सङ्गठनात्मक एकता बलियो बनाउने उद्देश्यले भेला आयोजना गरिएको हो । उनले मुलुकमा देखिएको कुशासन र निराशालाई सम्बोधन गर्दै आशा जगाउने विषय पनि भेलाको उद्देश्यमा रहेको बताए ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । उनले पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’ पनि प्रस्तुत गर्ने तय भएको छ । पूर्वराष्ट्रपति एवं पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यसूची छ ।
उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षमा पार्टीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् । महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण र सुदृढीकरणसँगै स्थानीय तह निर्वाचनको कार्ययोजना प्रस्तुत गर्नेछन् ।






