काठमाडौँ । स्पेनको क्यानरी टापुमा एट्लान्टिक समुन्द्री मार्ग हुँदै एकै दिनमा १ हजार ५८० भन्दा बढी आप्रवासी आइपुगेका छन् । यो पछिल्लो ३२ वर्षयताकै उक्त समुन्द्री मार्गबाट एकै दिनमा सबैभन्दा धेरै आप्रवासी उद्धार गरिएको घटना भएको स्पेनको समाचार एजेन्सी ईएफईले जनाएको छ ।
शनिवार मात्रै १ हजार ५८० जना आप्रवासी टापुमा आइपुगेका हुन् । यसअघि सन् २०२० नोभेम्बर ७ मा एकै दिन १ हजार ४६१ जनाको उद्धार गरिएको थियो । शुक्रवार र शनिवार गरी दुई दिनमा २ हजार ४०० भन्दा बढी आप्रवासी क्यानरी टापु पुगेको समाचारमा उल्लेख छ । आप्रवासीमध्ये अधिकांश एल हिएरो टापुमा पुगेका थिए ।
त्यहाँ मात्रै १ हजार ३२७ जना ओर्लिएका थिए । उनीहरूमध्ये सबैभन्दा ठूलो समूहमा २४० जना एउटै डुङ्गामा सवार थिए । उक्त डुङ्गा पश्चिम अफ्रिकी मुलुक गाम्बियाको गुन्जुरबाट छ दिनअघि प्रस्थान गरेको थियो । त्यस्तै, २०३ जना सवार अर्को डुङ्गा ग्रान क्यानारिया टापु पुगेको थियो। उनीहरूमध्ये १७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। थप ५० जना टेनेरिफ टापुमा पुगेका थिए भने उनीहरूमध्ये एक जनालाई अस्पताल लगिएको थियो । प्रारम्भिक विवरणअनुसार शनिबार आइपुगेका आप्रवासीमध्ये कम्तीमा १२० जना महिला र १७३ जना बालबालिका रहेका छन् ।
एल हिएरो पुगेका आप्रवासीले समुन्द्रमा चारदेखि सात दिनसम्म यात्रा गरेका थिए । उनीहरूका डुङ्गा सेनेगल, गाम्बिया र मौरिटानियाबाट छुटेका थिए । उद्धार कार्यमा स्पेनको समुन्द्री उद्धार सेवाका छवटा पानीजहाज र सिभिल गार्डका दुईवटा गस्ती डुङ्गा परिचालन गरिएको थियो ।स्पेनको गृह मन्त्रालयको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ जनवरी १ देखि अक्टोबर ३१ सम्म समुन्द्री मार्ग हुँदै १३ हजार ३२७ जना आप्रवासी क्यानरी टापु पुगेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशत कम हो ।
यसैबीच, आप्रवासी अधिकारका क्षेत्रमा काम गर्ने संस्था वाकिङ बोर्डर्स (कामिनान्दो फ्रोन्टेरास) ले यस वर्षको पहिलो पाँच महिनामा एट्लान्टिक महासागर पार गरेर क्यानरी टापु पुग्ने प्रयासका क्रममा कम्तीमा ६३५ जनाको मृत्यु भएको जनाएको छ । संस्थाकाअनुसार उक्त अवधिमा सफलतापूर्वक टापु पुग्ने प्रत्येक १०० जना आप्रवासीमध्ये करिव २१ जनाले समुन्द्री यात्राका क्रममा ज्यान गुमाएका थिए । एट्लान्टिक समुन्द्री मार्ग आप्रवासीका लागि जोखिमपूर्ण मार्गका रूपमा रहँदै आएको छ ।






