काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभर बजार तथा व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न दिने गरी तयारी थालेको छ । अर्को सूचना जारी नभएसम्म यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानमा तोकिएको समयसम्म मात्रै व्यापार-व्यवसाय सञ्चालन गर्न कार्यालयले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचना अनुसार दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला छन् । यो व्यवस्था जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न भरपर्दो सुरक्षा प्रबन्धसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती र आपूर्ति व्यवस्थाको तयारी भइरहेको कार्यालयले जनाएको छ ।
बजार तथा व्यवसाय सञ्चालनको समय विस्तारबारे स्थानीय तह, सम्बन्धित विभाग र कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग छिट्टै समन्वय बैठक गर्ने प्रशासनको तयारी छ । आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था तयार भएपछि मात्रै जिल्लाभर चौबिसै घण्टा खुला गर्ने निर्णय लिइने सूचनामा उल्लेख छ ।






