काठमाडौँ । मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन्।
मन्त्री मेहताले आज जनकपुरधामस्थित मधेस विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा उनले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । साथै, विभिन्न निकायमा देखिएका व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहका समस्याबारे चासो व्यक्त गर्दै सुधारका लागि आवश्यक सुझावसमेत दिएकी थिइन् ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरिन्। उनले अनुगमनका क्रममा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन व्यवस्थापकीय सुधार तथा आवश्यक समन्वयमा जोड दिइन् ।





