काठमाडौँ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटको सुनुवाइ भइरहेको छ ।
मन्त्रिपरिषद्ले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने र मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । पदावधि बाँकी छँदै आफूलाई अर्को जिम्मेवारीमा खटाएर प्रहरी प्रमुखबाट हटाइएको भन्दै कार्कीले उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
प्रहरी महानिरीक्षकबाट हटाउनुको कानुनी आधार र कारण नखुलाइएको तथा स्पष्टीकरण दिने वा आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको कार्कीको दाबी छ । विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णयमार्फत आफूलाई परोक्ष रूपमा पदमुक्त गरिएको जिकिर गर्दै उनले महानिरीक्षक पदमा पूर्ववत् कायम राख्न अदालतसँग माग गरेका छन् ।





