काठमाडौँ । निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै उक्त आदेश दिएको हो । अब रिटमाथि प्रधान न्यायाधीशको नेतृत्वमा रहने संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।
नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालले सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् । सर्वोच्चले यसअघि सोही रिटमा अन्तरिम आदेश दिएको थियो ।
सरकारले गत साउनमा निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो । ट्रेड युनियनका नेताहरूले त्यसको विरोध गरेका थिए ।







