काठमाडौँ । शाखा अधिकृत पदमा नियुक्तिका लागि लोक सेवा आयोगले गरेको सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आयोगसहितका विपक्षीसँग लिखित जवाफ मागेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मंसिर २ गते कारण देखाऊ आदेश जारी गरेको हो।
विष्णु गौतमसमेतले दायर गरेको उत्प्रेषणको रिटमा लोक सेवा आयोगको केन्द्रीय कार्यालयसहितलाई विपक्षी बनाइएको छ। वैकल्पिक उम्मेदवार रहेका निवेदकहरूले प्रदेश र स्थानीय तहमा सातौँ तहका अधिकृतका रूपमा कार्यरत कर्मचारीलाई समान तहको शाखा अधिकृत पदमा नियुक्तिका लागि सिफारिस गरिएको जिकिर गरेका छन्।
इजलासले रिटमा माग भएबमोजिमको आदेश जारी गर्नु नपर्ने आधार र कारण भए खुलाउन विपक्षीलाई भनेको छ। म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुपर्नेछ।
निवेदकले अन्तरिम आदेशसमेत माग गरेका छन्। इजलासले त्यसबारे निर्णय गर्नुअघि दुवै पक्षको भनाइ सुन्ने र सम्बन्धित निर्णयको फाइल अध्ययन गर्ने जनाएको छ।
अदालतले मंसिर ७ गतेको पेसीबारे विपक्षीलाई जानकारी दिन र सिफारिससम्बन्धी निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत सोही पेसीमा पेस गर्न आदेश दिएको छ।





