काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ र भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापुबीच दुई देशको हवाई सहकार्य विस्तारबारे छलफल भएको छ।
नयाँदिल्लीमा भएको शिष्टाचार भेटमा उनीहरूले नागरिक उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य बढाउने विषयमा कुराकानी गरेका हुन्।
नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार साँझ संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल कलिङ’ पर्यटन प्रवर्द्धन कार्यक्रमका क्रममा मन्त्री पौडेलले नायडुसँग भेट गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भारतीय पर्यटकको नेपाल भ्रमण सहज बनाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार गर्नुपर्ने बताए। उनले दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए। नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, साहसिक गतिविधि र आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने उनको भनाइ थियो।
भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले दुई देशको साझा सांस्कृतिक सम्पदाले पर्यटन प्रवर्द्धनमा खेल्ने भूमिकाबारे चर्चा गरे। उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपालका विभिन्न पर्यटकीय गन्तव्य र गतिविधिबारे जानकारी दिँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए। कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सहित दुवै देशका पर्यटन व्यवसायी, सरकारी अधिकारी र कूटनीतिक प्रतिनिधि सहभागी थिए।





