काठमाडौँ । भूमि प्रशासन कार्यालय रामपुरले रामपुर नगरपालिकालाई एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
कार्यालयले मंसिर २ गते नगरपालिकालाई पठाएको पत्रमा कात्तिक १३ गतेको मन्त्री स्तरीय निर्णयअनुसार सम्बन्धित स्थानीय तहले एक महिनाभित्र भूमि प्रशासन सेवा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ। सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले कात्तिक १६ गते पत्राचार गरेको थियो।
सेवा सञ्चालनका क्रममा आउने प्राविधिक तथा प्रक्रियागत समस्या समाधानमा सहजीकरण गर्न कार्यालयले सहायक कम्प्युटर अपरेटर सुन्दर आचार्यलाई सम्पर्क व्यक्ति तोकेको छ। आचार्यलाई नगरपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
सेवा सुरु गर्न कार्यालयले तत्कालका लागि इन्ट्रानेट सुविधा र कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउन सक्ने जनाएको छ। कोठा उपलब्ध भएमा सेवा सञ्चालनका लागि प्रयोग गर्न दिन सकिने पनि पत्रमा उल्लेख छ।





