काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देहीको भैरहवास्थित डन्डा नदी क्षेत्रमा फोहोर नफाल्न सिद्धार्थनगर नगरपालिकालाई आदेश दिएको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार नगरपालिकालाई फोहोरमैला अन्यत्र व्यवस्थापन गर्नसमेत आदेश दिएको हो।
सर्वोच्चले डन्डा क्षेत्रमा फोहोर फाल्नेमाथि कारबाही गर्न र फोहोरमैला व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन पनि नगरपालिकालाई भनेको छ।
नगरपालिकाले नगर क्षेत्रबाट संकलन गरेको फोहोर डन्डा नदीमा फाल्दा वातावरण प्रदूषित भएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले २०८२ चैत १५ गते रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीशद्वय हरि फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८३ वैशाख ४ गते फोहोर फाल्न रोक लगाउने अन्तरिम आदेश दिएको थियो। बुधबारको फैसलाले अन्तरिम आदेशबाट लगाइएको रोकलाई कायम राखेको हो।





