काठमाडौँ । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ।
अभियानका अध्यक्ष तथा संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले त्यसका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गरिदिन आग्रह गरेको छ।
अभियानले स्थानीय निर्वाचनमा दलका चुनाव चिह्नको सट्टा उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न दिएर प्रतिस्पर्धा गराउने व्यवस्था प्रस्ताव गरेको छ। गैरदलीय निर्वाचनका लागि आवश्यक कानुनी र प्रशासनिक आधार तय गरेपछि निर्वाचनको मिति घोषणा गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ।
स्थानीय तहमा दलीय ध्रुवीकरण र भागबन्डाले बजेट विनियोजन, सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा असर पारेको अभियानको भनाइ छ। स्थानीय स्वायत्तता, जनसहभागिता र नागरिकप्रतिको प्रत्यक्ष जबाफदेहिता बलियो बनाउन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको तर्क अभियानले गरेको छ।
निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण र कानुन संशोधनका विषयमा हुने सर्वदलीय छलफल तथा परामर्शमा नागरिक समाजलाई संस्थागत रूपमा सहभागी गराउन पनि अभियानले आयोगको ध्यानाकर्षण गराएको छ। त्यस्ता छलफलमा स्वतन्त्र नागरिक अभियानकै औपचारिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग ज्ञापन पत्रमा छ।





