काठमाडौँ । नेपाल राष्ट्र बैंकले सन् २०२६/२७ का लागि एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता पाएको छ। काठमाडौँमा नोभेम्बर १८ मा सम्पन्न एसीयू सञ्चालक समितिको ५४औँ बैठकले राष्ट्र बैंकलाई एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो।
बैठकले सन् २०२७/२८ का लागि म्यानमारको केन्द्रीय बैंकलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ। सञ्चालक समितिको अर्को बैठक सन् २०२७ को जुनमा म्यानमारको नेपिडोमा गर्ने निर्णय पनि भएको छ।
नेपाल राष्ट्र बैंकको आयोजनामा नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र त्यसको भोलिपल्ट सञ्चालक समितिको बैठक बसेको थियो। सञ्चालक समितिले प्राविधिक समितिका सिफारिस अनुमोदन गर्नुका साथै एसीयू महासचिवालयले तयार पारेको सन् २०२४/२५ को प्रतिवेदन ग्रहण गरेको छ।
राष्ट्र बैंकका अनुसार बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, नीतिगत सुधार तथा डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्रबारे छलफल भएको थियो। बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक र एसीयू सचिवालयका प्रतिनिधि सहभागी थिए।
सदस्य राष्ट्रबीचको भुक्तानी सहज बनाउन सन् १९७४ मा स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा छ। एसीयूले सदस्य राष्ट्रबीचको भुक्तानीको खुद हिसाब हरेक दुई महिनामा मिलाउने प्रणाली सञ्चालन गर्दै आएको छ।





