काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम उठाइएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको भूमिकामाथि पनि अनुसन्धान गरिरहेको छ। अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए।
प्रकरणसँग सम्बन्धित कागजातको अनुसन्धान अघि बढेपछि अर्याल सम्पर्कमा नरहेको र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले प्रशासनलाई जानकारी दिएको छ।
सीआईबीले बुधबार पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन उपसचिव अधिकृत निर्मला गुरुङ छन्।
यसअघि सोही प्रकरणमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा ब्युरोले अनुसन्धान अघि बढाएको हो।
नेपाल र मलेसियाबीचको श्रम समझदारीविपरीत श्रमिकबाट उठाइएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा बुधबार पक्राउ परेका ६ जनाको भूमिका रहेको प्रहरीको आरोप छ। श्रमिकबाट रकम उठाउने काम रोक्न कानुनी प्रक्रिया अघि नबढाएको र आफ्नो अधिकार क्षेत्र नाघेर रकम विदेश पठाउने निर्णय गरेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।





