काठमाडौँ । गुठी संस्थानको विद्वत् समिति र सञ्चालक समितिमा मनोनीत आठ जनालाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले बिहीबार मनोनयन पत्र हस्तान्तरण गरेका छन् । मङ्सिर १ गतेको मन्त्रीस्तरीय निर्णयबाट विद्वत् समितिमा सभापतिसहित पाँच जना र सञ्चालक समितिमा तीन सदस्य मनोनीत भएका हुन् ।
विद्वत् समितिको सभापतिमा ललितपुरको महालक्ष्मी-१ का सञ्जय अधिकारी मनोनीत भएका छन् । समितिका सदस्यमा ललितपुरको कुपण्डोल-१० का दिनेश खरेल, काभ्रेको नयाँगाउँ-१ की देवकी न्यौपाने, काठमाडौँ-३० कमलपोखरीका सरोज थपलिया र ताप्लेजुङको आठराई त्रिवेणी-४ का थाइन्द्र बहादुर लिम्बु आङ्बुहाङ मनोनीत भएका छन् । आङ्बुहाङ हाल भक्तपुरको सूर्यविनायकमा बस्छन् ।
सञ्चालक समितिको सदस्यमा काठमाडौँ-२२, न्युरोडको टेवहालकी गिता सिक्राकार, सिराहाको तिनुवापती-२ का दिनेश यादव र ललितपुरको ओकुबहाल-६ का रवि शाक्य मनोनीत भएका छन् ।





