काठमाडौँ । नेपालका अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग र चिकित्सकीय सिफारिसको अवस्था अध्ययन गर्न तयार पारिएको सर्वेक्षण प्रोटोकल सार्वजनिक गरिएको छ। विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रोटोकल सार्वजनिक गरिएको हो।
प्रोटोकलअनुसार संकलन गरिने तथ्यांकले अस्पतालमा यस्ता औषधिको विवेकपूर्ण प्रयोग बढाउन र प्रमाणमा आधारित नीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्री सहकार्य आवश्यक रहेको बताइन्। मानव र पशुपन्छीको स्वास्थ्यसँगै वनस्पति, खाद्य प्रणाली र वातावरणसँग पनि यो समस्या जोडिएको उनको भनाइ थियो।
मन्त्री मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउने, खर्च बढाउने र स्वास्थ्य प्रणालीमा दबाब थप्ने बताइन्। उनले औषधि प्रयोगको नियामकीय निगरानी प्रभावकारी बनाउँदै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिनुपर्ने बताइन्।
नेपालले सन् २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रति प्रतिबद्धता जनाएको र सन् २०२४-२०२८ को राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको मन्त्री मेहताले जानकारी दिइन्। कार्ययोजना प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनले बताइन्।
उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र यस्ता औषधि सिफारिस गर्न र नागरिकलाई स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै प्रयोग गर्न आग्रह गरिन्।
कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा औषधिको जिम्मेवार प्रयोग र जैविक सुरक्षाका उपाय अपनाउन पनि उनले जोड दिइन्।





