काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको बताएका छन्।
उनको सचिवालयका अनुसार ‘प्रचण्ड’ले पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा तय गर्ने बताएका हुन्।
छलफलमा नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपाका संयोजक प्रचण्डलगायत सहभागी थिए। आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर बाहिरिएका थिए।
पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते र प्रदेशसभा निर्वाचन सोही वर्ष मंसिर ४ गते भएको थियो। गाउँसभा र नगरसभाको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदै छ। स्थानीय तहको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग निर्वाचनको समयतालिकाबारे छलफल गरेको हो।





