काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् ।
शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् । उनले कुनैपनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र आफू नेपाली हुनुको गौरववोध गराउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ । नेपालले राष्ट्रियता र स्वाधीनताको विषयलाई केवल राजनीतिक मुद्दाका रूपमा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।
नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ । उनले पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नयाँ परिवर्तन देखिन थालेको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकमा कम्युनिष्ट तथा वामपन्थी आन्दोलन पुनः सक्रिय हुन थालेको दाबी गरे । ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतीय निर्वाचनमा ६ करोड ५० लाख मत प्राप्त गरी विजय हासिल गरेको उदाहरण दिँदै उहाँले ल्याटिन अमेरिकाका विभिन्न देशमा वामपन्थी शक्तिहरू अगाडि बढिरहेको बताए।
त्यस्तै मेक्सिको, बुल्गेरिया, स्पेन, फ्रान्स, इटाली र अमेरिकालगायत देशमा पनि कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढिरहेको उहाँको दाबी छ । विश्व राजनीतिमा देखिएको यस्तो परिवर्तनबाट नेपाली कम्युनिष्टहरूले प्रेरणा लिनुपर्ने उहाँले बताउनु भयो । नेपालले विश्वव्यापी रूपमा देखिएको परिवर्तनका बाबजुद नेपाली कम्युनिष्ट आन्दोलनका सामु चुनौतीहरू रहेको स्वीकार गरे । तर चुनौतीबाट निराश नभई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए। उनले राष्ट्रियताको रक्षा गर्नुका साथै जनअधिकारको संरक्षण, जनताका समस्या उजागर र समाजको परिवर्तन तथा रूपान्तरणका लागि कम्युनिष्टहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका पार्टीका नेता तथा जनप्रतिनिधिले जनमुखी नीति अवलम्बन गर्दै जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ ।
नेपालले भने, ‘राष्ट्रिय जागरण अभियानको पहिलो उद्देश्य राष्ट्रियता, देशभक्ति, नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो । देशको स्वाभिमानमा आँच आउने कुनैपनि कार्य स्वीकार्य हुन सक्दैन । नेपाली हुनुको गौरव र देशप्रेमको भावना जनतामा जागृत गराउनु यस अभियानको लक्ष्य हो । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशमा वामपन्थी आन्दोलनले पुनः गति लिइरहेको छ । ब्राजिलमा लुलाको विजयदेखि ल्याटिन अमेरिका, अफ्रिका, युरोप र अन्य देशमा देखिएका राजनीतिक परिवर्तनले नयाँ सन्देश दिएका छन् । यसबाट हामीले प्रेरणा लिनुपर्छ र निराश नभई अघि बढ्नुपर्छ । नेपालमा पनि कम्युनिष्ट आन्दोलनका चुनौतीहरू छन् । त्यसैले कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुका साथै राष्ट्रियता, जनअधिकार र जनताका समस्याको पक्षमा आवाज उठाउनु हाम्रो जिम्मेवारी हो। समाजको परिवर्तन र रूपान्तरणका लागि सक्रिय भूमिका खेल्दै न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्नुपर्छ ।’
राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनात्मक सुदृढीकरणसँगै जनतामा राष्ट्रियता, देशभक्ति र स्वाभिमानको भावना थप बलियो बनाउने अपेक्षा गरिएको उनले बताए ।





