काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् ।
एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् । उनले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गरे ।
उनले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाए । सुकुम्बासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उनले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गरे । बंगलादेशमा हाल भइरहेको आन्दोलनको प्रसंग निकाल्दै उनले सुकुम्बासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि उक्त घटना हुनसक्ने बताए ।
उनले सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको पनि बताए । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब जम्मा भए पनि बाढीपीडितले खान नपाएर भोकै बस्न परेको उनको भनाइ छ । उनले वैदेशिक शक्तिहरूले एमालेविनाको देश बनाउन खोजेको पनि आरोप लगाए । तर एमाले विनाको देश र केपी ओली विनाको एमाले बनाउन कसैले नसक्ने उनको दाबी छ । वैदेशिक शक्तिहरूले ओली र एमालेमाथि आक्रमण गरेर ओलीबिनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको उनको आरोप छ । उनले एमालेभित्र ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गरे ।
उनले भने, ‘वैदेशिक शक्तिहरूले केपी ओलीमाथि आक्रमण गरे । नेकपा (एमाले) माथि आक्रमण गरे । केपी ओली बिनाको नेपाल बनाउन खोजे, केपी ओली बिनाको एमाले बनाउन खोजे, केपी ओली बिनाको युवा बनाउन खोजे, यो सम्भव छैन । यो सम्भव छैन भनेर अघिल्लो वर्ष मंसिर ५ गते हामीले उद्घोष गर्यौँ । ‘केपी बा, वी लभ यु’ भनेर युवाहरूले भने । ‘युवा बिनाको केपी ओली सम्भव छैन, हामी तपाईँको साथमा छौँ’ भनेर भने । आज आफ्नो स्थापना दिवसमा राजधानी कमिटीको गठन गरेर फेरि आज युवाहरूले दोहोर्याए । ‘आज होइन भोलिलाई तपाईँले सकेसम्म यो देश तपाईँले जिम्मा लिनुपर्छ’ भनेर आज युवाहरूले उद्घोष गरे । केपी ओली बिनाको युवा, युवा बिनाको केपी ओली अपुरो हुन्छ भन्ने कुरा युवाहरूले प्रमाणित गरे ।
उनले केपी ओलीले देश विकास गरेको देखेर प्रतिक्रियावादी शक्तिहरूले षडयन्त्र गरेको आरोप लगाए । केपी ओली राष्ट्रियताको प्रतीकको रूपमा भूमिका खेलेको उनको दाबी छ ।





