काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको वसन्तपुरस्थित जग्गामा काठमाडौँ महानगरपालिकाले गणेश र भैरवको मूर्ति स्थापनाका लागि शिलान्यास गरेको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ।
क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र पठाउँदै शैक्षिक प्रयोजनका लागि उपलब्ध जग्गाको कानुनी संरक्षण गर्न र त्यहाँ भइरहेको भनिएको अनधिकृत निर्माण रोक्न आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्।
क्याम्पसले मूर्ति स्थापना वा धार्मिक गतिविधिप्रति आफ्नो असहमति नरहेको स्पष्ट पारेको छ। तर, धार्मिक प्रयोजनका नाममा शैक्षिक संस्थाको भोगाधिकारमा रहेको जमिन कानुनी प्रक्रिया पूरा नगरी प्रयोग गर्न नपाइने उसको भनाइ छ।
पत्रमा उल्लेख छ, ‘धार्मिक आस्थाको सम्मान गणेश तथा भैरवको मूर्ति स्थापना एवं धार्मिक आस्थाप्रति ललितकला क्याम्पसको कुनै विरोध छैन,’ पत्रमा भनिएको छ, ‘आम नागरिक र भक्तजनको धार्मिक विश्वास र पूजाआजा गर्ने अधिकारको सम्मान गरिनुपर्छ ।’
क्याम्पसले शैक्षिक दानका रूपमा प्राप्त जग्गाको उपयोग परिवर्तन गर्दा कानुनी प्रक्रिया अपनाउनुपर्ने र आवश्यक सो भर्नाको व्यवस्था हुनुपर्ने विषय उठाएको छ।
‘एउटा प्रयोजनका लागि प्राप्त तथा शैक्षिक दान स्वरूप रहेको जग्गा कानुनी प्रक्रिया र उचित सोधभर्नाविना अर्को प्रयोजनमा प्रयोग गर्न मिल्दैन । विधिको शासन र सम्पत्तिको हक विपरीत राज्य वा कुनै पनि निकायबाट हुने बलजफ्ती तथा मनमानी ललितकला क्याम्पसलाई स्वीकार्य छैन,’ पत्रमा भनिएको छ ।
क्याम्पसले काठमाडौँ महानगरपालिकाका प्रमुख, वडा नम्बर २३ का वडाध्यक्ष र पुरातत्त्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक गतिविधिलाई आधार बनाएर उक्त स्थानमा अनधिकृत शिलान्यास गरिएको आरोपसमेत लगाएको छ।
कानुनी प्रक्रिया नअपनाई एकतर्फी रूपमा निर्माण अघि बढाइए त्यससम्बन्धी प्रमाण संकलन गरेर आवश्यकताअनुसार अदालतमार्फत न्यायिक उपचार खोज्ने क्याम्पसले जनाएको छ।
क्याम्पसले विश्वविद्यालय प्रशासनलाई आफ्नो भोगाधिकारमा रहेको जग्गाको संरक्षण तथा विवादित निर्माण गतिविधि रोक्न पहल गर्न अनुरोध गरेको हो।





