प्रदेश र स्थानीय तहबाट किन्न बजेट छुट्याइए पनि केन्द्रले १८ करोड ७० लाख ५० हजार रुपैयाँको आइरन चक्की खरिद गर्यो। विदेशी ऋण सहयोगअन्तर्गत अघि बढाइएको छुट्टै मेमोग्राफी खरिदमा विशेष अदालतले आपूर्ति र भुक्तानीमा भ्रष्टाचार ठहर गरेको छ।
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्धको जेन जेड आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनादेश र वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनसँगै पुराना अनियमितताका प्रकरण फेरि सार्वजनिक बहसमा आएका छन्। मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुलिएको प्रकरणमा प्रहरीले दुई पूर्वश्रममन्त्रीसहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यही बेला सरकारी औषधि र उपकरण खरिदका निर्णय, आपूर्तिकर्ताको छनोट र खरिदबाट बिरामीले पाएको सेवामाथि पनि फेरि प्रश्न उठेका छन्।
आइरन चक्की केन्द्रबाट किन्ने निर्णय, वितरणमा समस्या
आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहबाटै आइरन चक्की खरिद गर्ने गरी बजेट विनियोजन भएको थियो। सचिवस्तरीय निर्णयपछि स्वास्थ्य सेवा विभागले केन्द्रबाटै २१ करोड ३५ लाख चक्की खरिद गर्यो। त्यसमा १८ करोड ७० लाख ५० हजार रुपैयाँ खर्च भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनको दफा २९ मा उल्लेख छ।
विभागको औषधि अभिलेखअनुसार २०८० पुस मसान्तमा ३४० स्वास्थ्य संस्थाको आइरन चक्की मौज्दात शून्य थियो। दुई महिनापछि फागुन मसान्तमा विभाग, पथलैया मेडिकल स्टोर र सात प्रदेश आपूर्ति केन्द्रमा ६ करोड १५ लाख ७३ हजार चक्की मौज्दात थिए। यो खरिद परिमाणको २८.८४ प्रतिशत हो। गोदाममा ठूलो परिमाणमा चक्की मौज्दात रहँदा स्वास्थ्य संस्थामा देखिएको अभाव त्यतिबेला पनि चर्चामा आएको थियो।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो वर्ष विभाग र प्रदेश आपूर्ति केन्द्रबाट चक्की नपाएको लेखापरीक्षणमा देखिएको थियो। महालेखाले लाभग्राहीले सहजै पाउने गरी वितरण मिलाउन भनेको थियो।
त्यसबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेल थिए। पोखरेलको कार्यकालमा केही आपूर्तिकर्तालाई अनुकूल हुने गरी खरिद बजेट व्यवस्थापन गरिएको तथा सिमित आपूर्तिकर्ताहरुसँगको हिमचिमबारेसमेत विभागदेखि मन्त्रालयसम्मै आलोचना भएको थियो ।
आइरन चक्की खरिदबारे प्रशासनले राखेको जिज्ञासामा तत्कालीन व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले परिवार कल्याण महाशाखाले गर्भवती महिला र किशोरीका लागि आवश्यक परिमाण प्रक्षेपण गरेपछि आफ्नो महाशाखाले बोलपत्र प्रक्रिया अघि बढाएको बताए। ‘दुई वर्षको लागि भनेर किनेको खरिद हो। एक वर्ष पनि होइन,’ शर्माले भने। कति चक्की प्रयोग भए र कतिको म्याद गुज्रियो भन्ने यकिन विवरण आफूसँग नरहेको उनले बताए।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले कुन तहमा कति चक्की पठाइयो भन्ने विवरण व्यवस्थापन महाशाखाको अभिलेखबाट खोज्न सकिने बताए। ‘अब त्यो पालिकामा पुगिसकेपछि कति एक्सपायर भयो चै कुनै औषधिको नि थाहा हुन्न सर,’ उनले प्रशासनसँग भने।
औषधि तथा उपकरण खरिदको आवश्यकता र औचित्यतासँगै त्यसका प्रक्रियाबारेसमेत पुन: छानविन हुन सक्ने चर्चा यतिबेला स्वास्थ्य विभागमा फेरि उठेको छ।
यसअघि खरिद प्रक्रियामा विवाद हुँदा आइरन चक्की, रेबिजविरुद्धको खोप र कुपोषित बालबालिकालाई दिइने पोषण सामग्रीको आपूर्तिमा समस्या भएको विषय चर्चामा आएको थियो। २०८३ साउनमा सरकारी स्वास्थ्य संस्थामा आइरन चक्की र सर्पदंशको उपचारमा प्रयोग हुने औषधि अभावको विषय फेरि उठ्यो। यी पछिल्ला वर्षका आपूर्ति समस्या हुन्।
निजामती कर्मचारी अस्पतालको फार्मेसीसम्बन्धी छुट्टै प्रकरणमा अख्तियारले २०८३ असार २४ गते फार्मेसी युनिट इन्चार्जसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। आपूर्ति नै नभएको औषधिको बिलबिजक सफ्टवेयरमा प्रविष्ट गरिएको र म्याद गुज्रिएका औषधि फिर्ता गरी सोधभर्ना नलिइएको आयोगको आरोप थियो।
मेमोग्राफीमा अदालतको ठहर, प्रयोगशाला खरिदमा पुनरावेदन
स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०८०/८१ मा गरेको थ्रीडी मेमोग्राफी मेसिन खरिदमा अख्तियारले २०८२ कात्तिक २ गते आरोपपत्र दायर गरेको थियो। जसमा विशेष अदालतले ढिलो आपूर्तिबापत सम्झौताअनुसार कटाउनुपर्ने क्षतिपूर्ति नकटाई गलत प्रतिवेदन र बिल–भरपाईका आधारमा भुक्तानी गरिएको ठहर गरेको थियो।
विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापासहितका कर्मचारी दोषी ठहर भए। आपूर्तिकर्ता म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. र त्यसका सञ्चालक सुन्दर भुसाल मतियार ठहर भए। विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहितका प्रतिवादीले सफाइ पाए।
मधेस प्रदेशका ७२ स्थानीय तहमा निदान केन्द्र स्थापना गर्न भएका खरिद सम्झौतामध्ये एउटा ठेक्कामा पनि अख्तियारले २०८२ वैशाख १४ गते आरोपपत्र दायर गरेको थियो। कुन पालिकामा कस्ता उपकरण आवश्यक थिए भन्ने यकिन नगरी खरिद अघि बढाइएको र लागत अनुमानका लागि स्वार्थ बाझिने फर्मबाट दररेट लिइएको आयोगको आरोप थियो। विशेष अदालतले आंशिक सफाइ दिएपछि फैसलाउपर पुनरावेदन गरेको आयोगले जनाएको छ।
दातृ सहयोगको खर्च र उपयोगमाथि पनि प्रश्न
स्वास्थ्य क्षेत्रमा सरकारी बजेटसँगै दातृ निकायबाट प्राप्त ऋण, अनुदान र वस्तुगत सहयोगको उपयोगबारे पनि प्रश्न उठ्दै आएका छन्। मेमोग्राफी मेसिनको बोलपत्र कागजातमा यो खरिद विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ऋण सहयोगमा सञ्चालित कोभिड–१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत अघि बढाइएको बताइएको थियो । उक्त ठेक्काको आपूर्ति र भुक्तानीमा भएको भ्रष्टाचारबारे विशेष अदालतको ठहर रहेको थियो ।
महालेखाको कोभिड–१९ सम्बन्धी विशेष लेखापरीक्षणले पनि विदेशी सहायता परिचालनमा अभिलेख र अनुगमनको समस्या औँल्याएको थियो। प्रतिवेदनअनुसार विदेशी सहायताको एकीकृत वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा पेस गरिएको थिएन। विभागले सहयोगमा प्राप्त र खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरण अस्पताल र अन्य निकायलाई वितरण गरे पनि तिनको उपयोगको अवस्था अनुगमन गरेको थिएन। प्राप्त सबै सामग्रीको मूल्य अभिलेखमा नखुलाइएकाले महामारी नियन्त्रण र उपचारमा भएको वास्तविक खर्चसमेत यकिन हुन सकेको थिएन।
करोडौँका उपकरण कति उपयोग भए ?
वीर अस्पतालमा क्यान्सर उपचारका लागि किनिएको टोमोथेरापी मेसिन जडानमा भएको ढिलाइ र पछि मेसिन बिग्रिँदा उपचार सेवा अवरुद्ध भएको विषय यसअघि पनि चर्चामा आएको थियो। महालेखाको ६२औँ वार्षिक प्रतिवेदनअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले मेसिनका लागि ४० करोड रुपैयाँको लागत अनुमान स्वीकृत गरी ३९ करोड ९१ लाख ५२ हजार रुपैयाँको सम्झौता गरेको थियो। मेसिन सञ्चालनमा आइसकेपछि पनि लेखापरीक्षण गरिएको २०८१ माघसम्म प्रतितपत्र फर्छ्योट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
वीर, गंगालाल, राष्ट्रिय ट्रमा सेन्टर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा उपकरण प्रयोगविहीन रहेको विषय महालेखाको ६२औँ प्रतिवेदन सार्वजनिक भएपछि पनि उठेको थियो। त्यसपछिको ६३औँ प्रतिवेदनको सारांशमा राष्ट्रिय ट्रमा सेन्टरको ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब दक्ष जनशक्ति अभावमा २०७२ सालदेखि उपयोगविहीन रहेको उल्लेख छ। विभागले मागबिनै उपकरण अस्पतालमा पठाएको र कतिपय हस्तान्तरणमा मूल्य तथा वारेन्टीका कागजात नदिएको पनि महालेखाले यसअघि औँल्याएको थियो।
खरिद प्रक्रियाबारे जानकार पूर्व उच्च अधिकारीहरू ठूलो बजेट र ठेक्का निर्णयको अधिकारका कारण स्वास्थ्य मन्त्रालयको नेतृत्व राजनीतिक र प्रशासनिक दुवै तहमा आकर्षणको केन्द्र बन्दै आएको बताउँछन्। उनीहरूका अनुसार पछिल्लो एक दशकका ठेक्काको हिसाब गर्दा लागत अनुमान, प्रतिस्पर्धा र वास्तविक भुक्तानीसँगै औषधि कुन स्वास्थ्य संस्थामा पुग्यो, उपकरण कहिले जडान भयो र बिरामीले कति सेवा पाए भन्ने अभिलेख भिडाउँदा औषधि र उपकरण खर्चको वास्तविक उपयोगीता बाहिर आउने छ ।






