काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना प्रवाह गर्ने प्रणालीको परीक्षण गरिने भएकाले चेतावनी सन्देश प्राप्त भए नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।
विपद् तथा अन्य आपत्कालीन परिस्थितिमा नागरिकलाई तत्काल सतर्क गराउने उद्देश्यले सरकारले सेल ब्रोडकास्ट प्रणाली परीक्षण गर्न लागेको हो।
परीक्षणका क्रममा काठमाडौँमा दोस्रो पुस्ताको मोबाइल नेटवर्क (२जी) प्रयोग गरिरहेका व्यक्तिको फोनमा आपत्कालीन सतर्कता सन्देश प्राप्त हुन सक्ने जनाइएको छ।
मोबाइलमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना देखिए त्यसलाई वास्तविक आपत्कालीन चेतावनीका रूपमा नबुझ्न मन्त्रालयले आग्रह गरेको छ।
परीक्षण सन्देश प्राप्त हुँदा मोबाइलबाट सामान्य सूचनाभन्दा फरक प्रकारको चेतावनी ध्वनि बज्न सक्नेछ। यस्तो सन्देश आएमा प्रयोगकर्ताले कुनै प्रतिक्रिया जनाउन वा अन्य प्रक्रिया पूरा गर्न आवश्यक नपर्ने बताइएको छ।
सरकारले विपद् वा आपत्कालीन अवस्था सिर्जना हुँदा प्रभावित नागरिकलाई समयमै जानकारी गराउन सकिने व्यवस्था विकास गर्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनको तयारी गरेको हो।
परीक्षण अवधिमा प्राप्त हुने सन्देश प्रणालीको परीक्षण प्रयोजनका लागि मात्र भएकाले अनावश्यक त्रासमा नपर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।






