काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण प्रभावितको पुनर्स्थापनामा प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।
बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको आजको बैठकमा उनले रसुवा, नुवाकोट, धादिङ लगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुन:स्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका हुन्।
विपदबाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकले भोग्नुपरेका समस्या तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा बैठकमा विस्तृत छलफल गरिएको थियो ।
बैठकमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूबाट सुझाव र धारणा लिइएको थियो ।
विपद्का कारण प्रभावित नागरिकको जीवन रक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएकोमा मुख्यमन्त्री थापाले जोड दिए ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयासका साथ अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुन:स्थापनाको अनुभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गरिने उनको भनाइ छ ।






