काठमाडौँ । गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक-सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
गृह श्रमिक सरोकार समाज नेपालले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्यांकमा उनीहरूले उचित स्थान पाउन नसकेको बताएका छन्।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले गृह श्रमिकको क्षेत्रमा नीतिगत सहकार्यका लागि हालसम्म भएका प्रयासबारे चर्चा गर्दै आगामी सत्रौँ आवधिक योजनामा यस विषयलाई उचित सम्बोधन गरिने बताए । उनले चालु सोह्रौँ आवधिक योजनाको मध्यावधि समीक्षाका क्रममा पनि गृह श्रमिकले अर्थतन्त्रमा पुर्याएको योगदानबारे विवेचना गरिने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष प्रभा पोखरेलले श्रम ऐन तथा नीतिमा परिमार्जन र गृह श्रमिकका मुद्दाको सम्बोधनका लागि आफूहरूले लामो समयदेखि पैरवी गर्दै आएको बताइन्। उनले गृह श्रमिकको पहिचान, सञ्जालीकरण, क्षमता तथा सीप विकास र श्रमिकका रूपमा मान्यता एवं अधिकार सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा प्रस्तुत अध्ययन-विवेचना अनुसार गृह श्रमिक भन्नाले आफ्नै घर वा आफूले रोजेको अन्य स्थानमा बसेर रोजगारदाताको कार्यस्थलबाहिर ज्यालाका लागि वस्तु उत्पादन गर्ने वा सेवा प्रदान गर्ने श्रमिक हुन् ।
उनीहरूले रोजगारदाताले निर्दिष्ट गरेका वस्तु वा सेवा उत्पादन तथा उपलब्ध गराउने गर्दछन् । यसका लागि आवश्यक उपकरण, सामग्री तथा अन्य स्रोत रोजगारदाता वा श्रमिक स्वयंले उपलब्ध गराउन सक्छन् ।
नेपाल जीवनस्तर सर्वेक्षणले मुलुकमा करिब ३० लाख अनौपचारिक गृह श्रमिक रहेको देखाएको छ । तीमध्ये करिब ५० प्रतिशत महिला छन् । गृह श्रमिकमध्ये एक प्रतिशतभन्दा कमले मात्रै रोजगारदातासँग लिखित करार सम्झौता गरेका छन् । उनीहरूले वार्षिक बिदा, तलबी बिदालगायत श्रम अधिकार तथा सुविधासमेत प्राप्त गर्न नसकेको जनाइएको छ ।
सरकारी तथ्यांकअनुसार गृह श्रमिकले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत योगदान पुर्याएका छन् । अर्थतन्त्रमा यति ठुलो योगदान रहे पनि उनीहरूको श्रमको उचित मूल्यांकन, सामाजिक सुरक्षा र कानुनी संरक्षण हुन नसकेको कार्यक्रममा सहभागी वक्ताहरूले बताए ।






