काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितताका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेकी छन् ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ को शुभारम्भका अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सरकारको प्राथमिकता भएको बताइन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस वर्षको अभियान ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अगाडि बढाइएको छ।
मन्त्री बादीले संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गरिन्। विशेषगरी दलित महिला, एकल महिला, अपांगता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, बालिका, किशोरी तथा सीमान्तकृत समुदाय हिंसाको थप जोखिममा रहेको उनले बताइन् ।
न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन् ।
सरकारले लैंगिक हिंसा निवारणसम्बन्धी कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन, पीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सेवाको विस्तारलाई प्राथमिकतामा राखेको मन्त्री बादीले जानकारी दिइन् । महिला सशक्तीकरण, सीप विकास, रोजगारी, उद्यमशीलता तथा आर्थिक आत्मनिर्भरतालाई पनि हिंसा न्यूनीकरणका महत्त्वपूर्ण आधारका रूपमा अघि बढाइने उनको भनाइ थियो।
सोही अवसरमा लैंगिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय कार्ययोजनाको विमोचन गर्दै मन्त्री बादीले कार्ययोजनालाई दस्तावेजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन्। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सुदृढ गर्दै हिंसा प्रभावित नागरिकको संरक्षण र न्यायमा पहुँच विस्तार गरिने उनले बताइन् ।
नेपाल प्रहरी तथा कानुन कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्दै मन्त्री बादीले हिंसा प्रभावित व्यक्तिको उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गरी शीघ्र संरक्षण र न्यायको प्रत्याभूति गराउनुपर्ने बताइन् । कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा हिंसा गर्ने व्यक्तिले कानुनी उन्मुक्ति पाउन नहुने उनको स्पष्ट धारणा थियो।
हिंसा निवारणका क्षेत्रमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, नागरिक समाज तथा संघसंस्थालाई कार्यान्वयनका क्रममा देखिएका कानुनी जटिलता, प्रक्रियागत अवरोध र स्रोतसाधनको अभावबारे सरकारसमक्ष खुलेर राख्न आग्रह गर्दै मन्त्री बादीले आवश्यक नीतिगत सुधार र सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
लैंगिक हिंसा अन्त्यका लागि कानुन र सरकारी प्रयाससँगै परिवार, विद्यालय, समुदाय तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले समानता र सम्मानको संस्कार घरबाटै सुरु गर्नुपर्ने बताइन् । छोरीलाई मात्र सुरक्षित रहन सिकाएर नपुग्ने भन्दै छोरालाई पनि सम्मान, समानता र जिम्मेवारी सिकाउनुपर्ने उनको भनाइ थियो।
मन्त्री बादीले १६ दिने अभियानलाई र्याली, सभा र नारामा मात्र सीमित नराखी वर्षभरि हुने कार्यक्रम, सेवा सुधार, बजेट व्यवस्थापन र संस्थागत जवाफदेहितासँग जोड्नुपर्ने बताइन् । अभियानको सफलता कति कार्यक्रम आयोजना भए भन्ने आधारमा नभई कति हिंसा प्रभावितले संरक्षण पाए, कति पीडितले न्याय पाए र कति नागरिकलाई हिंसाको जोखिमबाट जोगाउन सकियो भन्ने आधारमा मापन हुनुपर्ने उनले स्पष्ट पारिन् ।
महिला हिंसासम्बन्धी सहायता आवश्यक परेमा राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५ तथा बालबालिकाको संरक्षणका लागि बाल हेल्पलाइन १०९८ र १०४ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरिन् ।
“हिंसा सहनु बाध्यता होइन, हिंसाविरुद्ध बोल्नु अधिकार हो र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो,” मन्त्री बादीले भनिन्, “हाम्रो अभियान १६ दिनको भए पनि हाम्रो जिम्मेवारी वर्षका ३६५ दिनकै हो।”
उनले हिंसाविरुद्ध आवाज उठाउन, पीडितको साथमा उभिन र दण्डहीनताको अन्त्यका लागि सरकारी निकाय, नेपाल प्रहरी, राजनीतिक दल, विकास साझेदार, नागरिक समाज, संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई साझा प्रतिबद्धताका साथ अभियानमा सहभागी हुन आह्वान गरिन् ।
१६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म सञ्चालन हुनेछ।






