काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मातहतका छ वटा परिषद् तथा समितिमा रिक्त २६ सदस्य पदमा मनोनयनका लागि पुनः आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले यसअघि कात्तिक २० गते जारी गरेको सूचनाअनुसार पर्याप्त आवेदन नपरेपछि मङ्सिर ७ गते पुनः सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई रोस्टरमा सूचीकृत हुने अवसर दिएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय बीउ बिजन समितिमा आठ, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिमा पाँच, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिमा चार, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् र नेपाल पशु चिकित्सा परिषद्मा दुई–दुई तथा प्लान्ट क्वारेन्टाइन समितिमा पाँच सदस्य पद रिक्त छन् ।
राष्ट्रिय बीउ बिजन समितिमा बागवानी, खाद्यान्न र घाँसेबाली विज्ञानसम्बन्धी तीन विषयविज्ञ, कृषि तथा पशु विज्ञान विश्वविद्यालयका कम्तीमा सहप्राध्यापकस्तरका एक बीउ विशेषज्ञ, दुई बीउ बिजन उद्यमी तथा बीउ बिजन उत्पादक र कृषकमध्येबाट दुई जना सदस्य मनोनयन गरिनेछ । विषयविज्ञ, उद्यमी तथा उत्पादक र कृषक समूहबाट कम्तीमा एक–एक जना महिला हुनुपर्ने व्यवस्था छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिमा सार्वजनिक–निजी साझेदारीमा सञ्चालित दुग्धजन्य पशुपालन फर्मका सञ्चालकमध्येबाट एक र पेशागत वा विषय विशेषज्ञमध्येबाट चार जना सदस्य मनोनयन गरिनेछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिमा निजी तथा साना चिया र कफी किसानबाट एक-एक जना गरी चार जना सदस्य मनोनयन गर्ने व्यवस्था छ ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा सम्बन्धित व्यवसायीमध्येबाट कम्तीमा एक महिलासहित दुई जना र नेपाल पशु चिकित्सा परिषद्मा कम्तीमा ‘ख’ श्रेणीका दर्तावाल दुई जना पशु चिकित्सक मनोनयन गरिनेछन् ।
त्यस्तै, प्लान्ट क्वारेन्टाइन समितिमा कम्तीमा एक महिलासहित दुई जना विशेषज्ञ र विषयगत अनुभव भएका कृषक, कृषि व्यवसायी वा कृषि उद्यमीमध्येबाट कम्तीमा एक महिलासहित तीन जना सदस्य मनोनयन गरिनेछ ।
सम्बन्धित ऐनबमोजिम तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मन्त्रालयको सूचनामा उपलब्ध गुगल फारामको लिंक वा क्युआर कोडमार्फत २०८३ मङ्सिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।







