काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीका लागि सरकारले निर्धारण गरेको पोसाक तोकिएको दिनमा अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ ।
अदालतको प्रशासन शाखाले बुधबार (मङ्सिर ९ गते) सूचना जारी गर्दै कार्यालयमा रहँदा वा कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्दा निर्धारित पोसाक लगाउन कर्मचारीलाई निर्देशन दिएको हो ।
सरकारले निश्चित पोसाक नतोकेको दिन अर्थात् शुक्रबार कार्यालयमा उपस्थित हुँदा मर्यादित पोसाक लगाउनुपर्नेछ । साथै, कार्यालयमा रहँदा सबैले देख्ने गरी परिचयपत्र लगाउनसमेत निर्देशन दिइएको छ ।
पोसाक तथा परिचयपत्रसम्बन्धी व्यवस्थाको पालना भए–नभएको विषयमा अदालतको अनुगमन तथा निरीक्षण महाशाखाबाट नियमित अनुगमन गरिने सूचनामा उल्लेख छ ।
निजामती सेवा नियमावली, २०५० को नियम ११९ (क), निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ र अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ बमोजिम उक्त निर्देशन दिइएको हो ।







