काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन् ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्था अनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए ।
उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजित सामान्य विषय भएको उनको भनाइ थियो ।
निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए।
उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे। निर्वाचनको संवैधानिक कार्यकाल र समय तालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरुपकता रहेको स्पष्ट गर्दै पार्टीमा रहेर बाहिर जथाभाबी बोल्ने प्रवृत्ति अब अन्त्य हुने जनाए ।







