काठमाडौँ । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप सुरु नै हुन सकेका छैनन् ।
शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे सरोकारवालासँग गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार आयोगको रणनीतिक योजनामा पाँचवटा रणनीतिक स्तम्भ, २० वटा कार्यनीति र १४६ वटा मुख्य क्रियाकलाप समावेश छन् । तीमध्ये पछिल्ला दुई वर्षमा सम्पन्न गर्नुपर्ने गरी निर्धारण गरिएका ३५ वटा क्रियाकलापको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको हो । कार्कीले केही पछिल्ला अवधिमा सम्पन्न गर्नुपर्ने काम अगाडि नै गरिएको भए पनि प्राथमिकतामा राखिएका केही काम हुन नसकेको बताए ।
१० वटा क्रियाकलाप कार्यान्वयन नै हुन नसकेपछि ती काम गर्न नसकिने प्रकृतिका थिए कि कार्ययोजना निर्माणमै कमजोरी थियो भन्ने विषयमा समीक्षा गरिएको उनको भनाइ छ । पाँचवटै रणनीतिक स्तम्भलाई आधार बनाएर गरिएको समीक्षाबाट योजनामा समावेश गरिएका कार्यनीति र क्रियाकलाप कार्यान्वयन गर्नै नसकिने प्रकृतिका नरहेको देखिएको उहाँले बताए ।
उनले भने, ‘हाम्रा पाँच वटा रणनीतिहरू थिए । पाँच वटा रणनीति, २० वटा कार्यनीतिहरू, १४६ वटा मुख्य क्रियाकलापहरू रहेका थिए । त्यसमध्ये यी दुई वर्षमा ३५ वटा क्रियाकलाप गर्नुपर्ने ९ वटा पूर्ण कार्यान्वयन गरिएको छ । कुनै अलिक पछाडिका अघि तानिएर गरिएछ, अगाडि गर्नुपर्ने नगरिएको रहेछ । केही आंशिक कार्यान्वयनहरू १६ वटा गरेका छौँ । हुँदै नभएका १० वटा रहेछन् । हुँदै नभएका विषयले हामीलाई अलि घच्घच्याएको कारणले गर्दा गर्नै नसकिने हामीले राखेछौँ की के हो भन्ने हिसाबले आज छलफल गरिएको हो । हाम्रा जुन पाँच वटा रणनीतिक पिल्लर थिए, ती पिल्लहरु बेस बनाएर प्रस्तुति गरेका हौँ । हामीले रणनीतिक योजनामा राखेका जुन पिल्लरहरु थिए, कार्यनीति र क्रियाकलापहरू थिए । वास्तवमा गर्नै नहुने, गर्नै नसकिने रहेनछन् भन्ने देखिएको छ । गर्नैपर्छ भन्ने सुझाव छ । केही सुझावहरू आएका छन् । सुझाव लिएर, परिमार्जन गर्नुपर्ने विषयहरू परिमार्जन गरेर हामी कार्यान्वयन गर्ने अठोट गर्दछौँ । आउँदा दिनमा पनि यसरी छलफलमा आउनुहुन्छ भन्ने अपेक्षा छ ।’
छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक विषय परिमार्जन गरी रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । आगामी दिनमा समेत सरोकारवालासँग नियमित छलफल र सुझाव आदानप्रदानलाई निरन्तरता दिने आयोगको अपेक्षा रहेको उनले बताएका छन्।








