काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८३-८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राधिकरण देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विक्री गर्दै आएको छ ।
साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन-अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ ।
वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।
प्राधिकरण केन्द्रिय भुक्तानी विभागको प्रारम्भिक तथ्यांकअनुसार उक्त अवधिमा विद्युत निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत विक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युतनिर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत विक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत निर्यात प्रभावित भएको बताए ।
उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए।
गत आर्थिक वर्ष २०८२-८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युतनिर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।
गत आवमा विद्युत आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।







