हिरासतमा दबाब दिएर बयान गराइएको आरोपदेखि मोबाइल दुरुपयोगसम्मका विषय छानबिन गर्न काँग्रेस संसदीय दलका नेता आङ्देम्बेको माग ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटाको बयान प्रक्रियामाथि प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
सापकोटाले श्रीमतीमार्फत शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा बुझाएको निवेदनमा काँग्रेस सभापति गगनकुमार थापासहितका व्यक्तिविरुद्ध बयान दिए हिरासतबाट मुक्त गर्ने र अन्यथा फसाउने धम्की दिइएको आरोप लगाएपछि आङ्देम्बेले संसदीय छानबिनको माग गरेका हुन् ।
आङ्देम्बेले बयानका लागि लिखित सामग्री तयार पारिएको, सोही सामग्री पढ्न दबाब दिइएको तथा सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएर दुरुपयोग गरेको भन्ने आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । उनले बयान तयार गर्ने प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिकासमेत अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’, आङ्देम्बेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।’
सत्तापक्षको संलग्नतामा बयान तयार गरी हिरासतमा रहेका व्यक्तिलाई पढ्न बाध्य पारिएको आरोप पुष्टि भए त्यसले विधिको शासनमा गम्भीर प्रहार गर्ने उनको भनाइ छ ।
आङ्देम्बेले अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधका लागि प्रयोग गर्न नहुने उल्लेख गर्दै सत्ता परिवर्तनशील भए पनि राज्यका संस्थाको विश्वसनीयता र कानुनी शासन कायम रहनुपर्ने बताएका छन् ।
‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ ।’
उनले सरकारलाई स्वेच्छाचारी ढङ्गबाट नभई संविधान र विधिको शासनअनुरूप सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।







