सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहविरुद्ध गृहजिल्ला सर्लाहीको सदरमुकाम मलंगवामा शनिबार साँझ प्रदर्शन भएको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही पुगेका सिंहलाई हिन्दु सम्राट सेना नेपालका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।
सिंहले विगतमा हिन्दु धर्मविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रदर्शनकारीले हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित नाराबाजी गरेका थिए । उनीहरूले मलंगवास्थित बाबा स्वामी मठ नजिक सिंहको पुत्लासमेत जलाएका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले हिन्दु सम्राट सेना नेपालका चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई शनिबार मध्यरातमा रिहा गरिएको छ ।
पदयात्राका क्रममा गृहजिल्ला पुगेका सांसद सिंहको शनिबार राति मलंगवामै बस्ने कार्यक्रम थियो ।







