समस्या समाधान परीक्षणबाट छानिएका ११ उम्मेदवारमध्ये चरणबद्ध रूपमा तीन जनाको नाम नियुक्तिका लागि कार्यकारी समितिसमक्ष सिफारिस गरिने ।
काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अर्को चरणमा प्रवेश गरेको छ । प्रारम्भिक छनोटमा परेका १६ उम्मेदवारमध्ये पर्यटन क्षेत्रका समस्या समाधानसम्बन्धी परीक्षणमा उच्च अंक प्राप्त गर्ने ११ जनालाई थप प्रतिस्पर्धाका लागि छनोट गरिएको छ ।
कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम रणनीतिक कार्ययोजनाको मूल्यांकनबाट यसअघि १६ जना उम्मेदवार छनोट भएका थिए ।
पछिल्लो चरणमा चितवनका आशुतोष प्रधान र उत्तमप्रसाद देवकोटा, इलामका टेकबहादुर महत, मोरङका नोजल कोइराला तथा काठमाडौँकी युविका भण्डारी छनोट भएका छन् ।
त्यस्तै, भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्रीप्रसाद भट्टराई, बैतडीका सुरेशसिंह बुडाल र कञ्चनपुरका हिकमतसिंह ऐर पनि प्रतिस्पर्धामा छन् ।
गत कात्तिक २० गते सार्वजनिक प्रारम्भिक सूचीमा समावेश चितवनका धर्मराज दवाडी, काठमाडौँका राजाराम केसी र सन्तोषविक्रम थापा, गोरखाका रामचन्द्र सेढाईं तथा पाल्पाका विनोद अर्याल भने पछिल्लो छनोटबाट बाहिरिएका छन् ।
छनोट समितिले अब ११ उम्मेदवारमध्ये सात जना छनोट गर्नेछ । ती सातमध्ये तीन जनाको नाम कार्यकारी समितिसमक्ष सिफारिस गरिनेछ । सिफारिस भएका तीनमध्ये एक जना बोर्डको कार्यकारी प्रमुख नियुक्त हुनेछन् ।
राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत सरकारले तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई पदमुक्त गरेपछि गत वैशाख १९ गतेदेखि बोर्डको नेतृत्व रिक्त छ ।







