२०४६ सालदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन र थन्किएका अनुसन्धानका फाइल खोल्न माग गर्दै सभापति थापाले कानुनसम्मत कारबाहीमा काँग्रेसको पूर्ण समर्थन रहने बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न र निष्क्रिय अवस्थामा रहेका अनुसन्धानका फाइलमाथि पुन: अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा थापाले सम्पत्ति छानबिनलगायत अनुसन्धानका प्रक्रियामा काँग्रेस खुला रहेको बताएका हुन् ।
‘सबैको सम्पत्ति विवरण । हामी त तयार भयौँ । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पत्ति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली काँग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौँ ।’
सभापति थापाले राजनीतिक आबद्धताका आधारमा कसैले उन्मुक्ति पाउन नहुने र त्यही आधारमा कसैलाई दु:ख दिन पनि नहुने धारणा राखेका छन् । काँग्रेससँग आबद्ध व्यक्ति गलत काममा संलग्न भए कारबाही गर्नुपर्ने तर गल्ती नगरेका व्यक्तिलाई राजनीतिक आस्थाकै कारण दु:ख दिने नियत राखिए त्यो स्वीकार्य नहुने उनको भनाइ छ ।
‘अनुसन्धान कानुनअनुसार हुनुपर्छ । सरकारका निकायहरू कानुनअनुसार चल्नुपर्छ’, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का हकमा पनि यही मान्यता लागू हुनुपर्ने थापाले बताए । कुनै नेता वा मन्त्रीबारे प्रश्न उठ्दैमा दोषी मान्न नमिल्ने तर गलत काम गरेको अवस्थामा जोसुकैमाथि कानुनबमोजिम अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा छ ।
थापाले सम्पत्ति छानबिन, कानुनी शासन र निष्पक्ष अनुसन्धानका सम्बन्धमा पार्टीको यो धारणा नागरिकसमक्ष स्पष्ट रूपमा पुर्याउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।







