काठमाडौँ । सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा हटाएको छ । गाउँपालिकाको शनिबार सम्पन्न १२१औँ बैठकले आजदेखि लागू हुने गरी आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार यो निर्णय गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा लागू हुनेछ ।
गाउँपालिकाले स्थानीय भौगोलिक अवस्था र इन्धन खपतको विश्लेषण गरी आइतबारको बिदालाई निरन्तरता दिनु आवश्यक नरहेको निष्कर्ष निकालेको हो । सहरी क्षेत्रको तुलनामा गाउँपालिकाभित्र सञ्चालित सवारीसाधनमा पेट्रोलियम इन्धनको खपत अत्यन्त न्यून रहेकाले इन्धन बचतका लागि दिइएको बिदा स्थानीय परिवेशमा सान्दर्भिक नदेखिएको गाउँपालिकाले जनाएको छ ।
आइतबार स्वास्थ्य संस्था बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी उपचार सेवाबाट वञ्चित हुनुपरेको र आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा समेत कठिनाइ भएको विषयलाई निर्णयको आधार बनाइएको छ ।
नागरिकका प्रशासनिक काम समयमै सम्पन्न गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन आइतबार पनि कार्यालय खोल्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार आइतबारसमेत बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म र जाडोयाममा बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय खुला रहनेछन् ।








