काठमाडौँ । नेपाली काँग्रेसको देउवा पक्षले आयोजना गर्न लागेको १५औँ नियमित महाधिवेशनका लागि मङ्सिर २० गतेदेखि प्रतिनिधिको नाम दर्ता गरिने भएको छ ।
महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले आइतबार महाधिवेशन प्रतिनिधिहरूलाई पत्र पठाउँदै दर्ता प्रक्रिया, शुल्क तथा आवश्यक कागजातबारे जानकारी गराएका हुन् ।
प्रतिनिधिले नाम दर्ताका लागि जनही तीन हजार रुपैयाँ सहयोग शुल्क बुझाउनुपर्नेछ । नेपाल सरकारबाट जारी परिचयपत्र, निर्वाचन अधिकृतबाट प्राप्त महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र र दुई प्रति फोटोसहित सम्बन्धित क्षेत्रीय सभापतिमार्फत दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुने महाधिवेशनको उद्घाटन पहिलो दिन बिहान ११ बजे खुलामञ्चमा गरिनेछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको प्रबन्ध भने स्वयं गर्नुपर्ने संयोजक कुइँकेलले जानकारी दिएका छन् ।







