पर्सा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को कदम प्रदेशसभा विघटन भन्ने रहेको बताएका छन्।
संसद बिघटनको बिरोधमा वीरगञ्जमा सोमबार आयोजना गरिएको जन प्रदर्शन एवम बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओलीको ध्यान देशमा संकटकाल लगाई संबिधान खारेज गरी देशलाई पछि धकेल्ने भन्ने रहेको बताए।
जनआन्दोलन, मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्न प्रतिनिधि सभाको बिघटन गरिएको यादवको आरोप छ।
‘ओलीको अर्को कदम प्रदेश सभा विघटन गरेर देशमा इमरजेन्सी लगाई संविधान खारेज गर्नु रहेको छ’, उनले भने, ‘जन आन्दोलन मधेस आन्दोलन तथा सशस्त्र बिद्रोह जस्ता आन्दोलनको भरमा आएको संघीयता गणतन्त्र, धर्म निरपेक्षता, मौलिक अधिकार जस्ता मूल्य मान्यतालाई समाप्त गर्ने षडयन्त्र स्वरुप संसद बिघटन गरिएको हो।’
’केपी ओली आफ्नो पार्टीलाई व्यवस्थित गर्नमा तथा सरकार चलाउनमा पनि असक्षम रहेको यादवको भनाइ थियो। ओलीले आफनै पार्टीका दुई तीन जना नेताको झगडामा परेर प्रतिनिधिसभा विघटन गरिदिएको बताए।
प्रधानमन्त्री ओलीले अगामी बैशाख १७ र २७ गते चुनाव गराउन नसक्ने भएकाले उनको पछि लाग्नुको कुनै अर्थ नरहेको यादवको जिकिर थियो ।ओलीले कम्युनिष्टको मुखौटा मात्र लगाएको तर उनको भित्रिरुप भने प्रतिगमनकारी भएको उनको आरोप थियो।