काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार)बाट आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अङ्कित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले शेयर निष्कासनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सी–आस्वा सदस्यता प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ ।
आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ छ । आइपिओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १६ करोड पुग्नेछ ।