काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ । ६२ बर्सिया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।
३३ वर्षीय सुवर्णमान प्रधानको गए राति नै मृत्यु भयो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् ।
इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ बर्सिया मन्दिर डङ्गोल र ११ बर्सिया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ । डाडाँपौवास्थित डा उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरूले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरूले लेखेका छन्, ‘हामी संयुक्त रूपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि सङ्कलन गरेको छ ।
उनीहरू मध्ये केही मानसिक रोगको समस्यामा थिए । प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आङ्कलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताए ।
‘सबैले सल्लाह गरेर विष खाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने, ‘लेनदेनको समस्याका कारण विष खाएको हुनसक्ने आकलन गरेर सोही कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’ घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।