काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित परिवारलाई काठमाडौँ जिल्ला प्रशासनले राहत वितरणमा तीव्रता दिएको छ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जय नारायण आचार्यको नेतृत्वमा बुधवार मात्र दक्षिणकाली, चन्द्रागिरि र इचङ्गुनारायण-नागार्जुनका बाढी तथा पहिरो प्रभावित परिवारहरूलाई राहत प्रदान गरिएको छ।
प्रजिअ आचार्यले विपदमा परी ज्यान गुमाएका ९ जनाको परिवारलाई घरमै पुगेर सान्त्वना दिएर राहत वितरण गरेका छन्। प्रत्येक मृतक परिवारलाई दुई लाख रुपैयाँको दरले राहत हस्तान्तरण गरिएको छ। एउटै परिवारमा थप सदस्यको मृत्यु भएको खण्डमा प्रतिव्यक्ति एक लाख रुपैयाँ थप राहत उपलब्ध गराइँदै आइएको छ।
यसका साथै, घाइतेहरूको उपचारका लागि टिचिङ हस्पिटल र मनमोहन हस्पिटलमा पुगेर प्रजिअ आचार्यले पीडितहरूलाई सान्त्वना दिँदै सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने भन्दै नआत्तिएर उपचार गराउन आश्वासन दिएका छन्। उनले घाइतेहरूको स्वास्थ्य स्थिति बुझ्दै, यथाशीघ्र उपचारमा कुनै अवरोध नआउने गरी सहजीकरण गर्ने काम भइरहेको पनि बताएका छन् ।

प्रजिअ आचार्यले बाढीका कारण घर भत्किएका परिवारलाई पनि आर्थिक राहत वितरण गरेका छन्। १५ देखि २० हजार रुपैयाँको दरले चार वटा भत्किएको घरका लागि कूल ६५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ। यसले बाढीपीडित परिवारलाई तत्कालका लागि केही सहयोग पुगेको छ ।
प्रजिअ आचार्यले राहत वितरणको कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउँदै, कुनै पीडित परिवारलाई समस्यामा पार्न नदिने स्पष्ट गरे। काठमाडौँ जिल्ला प्रशासनको यस सक्रियताले प्रभावित परिवारहरूलाई आशा र सहयोगको अनुभूति गराएको छ। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाहरूले प्रशासनको यो कदमप्रति कृतज्ञता प्रकट गरेका छन्।

समयमै उद्धार गर्न नसकेको भन्दै सरकारको नै आलोचना भई रहँदा काठमाडौँ प्रशासनले घरदैलोमै पुगेर वितरण गरेको राहतले केही हदसम्म नागरिकको असन्तुष्टिलाई मत्थर पारेको छ ।

